काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिए । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आज यहाँ सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि बताए ।
‘राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ, यसका लागि नेपाल सरकारले ऐन, कानुन, नीति–नियमहरूमा सहजीकरण गर्नुपर्छ भने निजी क्षेत्रले मुलुकको हित र समृद्धिलाई सर्वोपरी मानेर लगानीलाई बढाउँदै जानुपर्छ भन्ने मलाई लाग्छ’, उनले भने ।
राष्ट्रपति पौडेलले संङघीयसँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुँदैछ भन्दै संङघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पारे ।
‘नेपालको आर्थिक समृद्धिको लागि नेपाल सरकारले मुख्य आधारको रुपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको छ, यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबूद बनाउँदै लगेको छ, नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रको रुपमा परिणत हुँदैछ’, राष्ट्रपति पौडेलले भने ।
उनले विशेष गरी बहुदलीय प्रजातन्त्रपछि निजी क्षेत्रलाई ऊर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको बताए । नेपाल सरकारले बिजुली छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी सम्झौता गरिसकेको र विसं २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै उनले यसमा पनि नेपाल सरकार र निजी क्षेत्र दुवैको उत्तिकै दायित्व र जिम्मेवारी छ भने।
‘लक्ष्य प्राप्तिका लागि लगानी मैत्री वातावरणको आवश्यकता छ, नेपाल सरकार यस्तो वातावरण निर्माणका लागि निरन्तर क्रियाशील रहोस् भन्ने सुझाव दिन चाहन्छु’, उनले भन ।
राष्ट्रपति पौडेलले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानीको वातावरण निर्माण गर्नु नेपाल सरकारको पनि दायित्व भएको र यसले निजी क्षेत्रको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानीय रहेको उनको भनाइ थियो ।
नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडियो सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्वपूर्ण रहेको उल्लेख गरे । ‘नेपालमा जलविद्युत् परियोजना विकासका लागि क्यानाडासँग रहेको सीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ’, उनले भने ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । यसका लागि सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे। एक्स्पो शुक्रबार सम्पन्न हुनेछ । रासस