सीजी मोटर्स गर्यो हिरोको एसेम्बलिङ प्लान्ट उद्घाटन, वार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटर उत्पादन हुने

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालमै हिरो मोटरसाइकल तथा स्कुटरको एसेम्बल प्लान्ट उद्घाटन गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै एसेन्बल उद्घाटन साथै व्यापार योजनाको घोषणा गरेको हो ।

सीजी मोटर्सले हिरोका ४ वटा मोडल एसेम्बल गर्ने प्लान्ट स्थापना गरेको हो ।

हिरोको एसेम्बलिङ प्लान्टमा वार्षिक ७५ हजार हिरो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न सक्ने क्षमता छ ।

हिरो मोटोकर्पले एक्सपल्स २०० फोरभी, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस र जुम ११० नेपालमै एसेम्बलिङ सुरू गरेको हो । यी ४ वटै मोडललाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा रहेको एसेम्बली प्लान्टबाट एसेम्बल गर्ने सीजी मोटर्सले जनाएको छ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

सीजी मोटर्सका कार्यकारी निर्देशक निर्वाण चौधरीका अनुसार ४० वर्षअघि नै प्यानासोनिक ब्रान्ड एसेम्बल प्लान राख्न खोजेको भए पनि त्यतिबेला राख्न नसकेको तर अहिले हिरो नै एसेम्बल थालेको बताएका छन् ।

हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले हिरोका मोटरसाइकल र स्कुटर नेपाली सडकको लागि उपयुक्त रहेको बताउँदै नेपाली ग्राहककाबीचमा यी उत्पादन लोकप्रिय बन्ने विश्वास लिएको बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’

चौधरी ग्रुप (सीजी) नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यवसायिक घराना हो, जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विस्तृत नेटवर्क सञ्चालन गर्दछ, जस अन्तर्गत १५,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स