प्रतिगमनको सामना गर्न माओवादी सक्षम छ: अर्थमन्त्री शर्मा

हेटौंडा । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको हो ।

उनले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकिर गरे । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गरे ।

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उनले भने, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिए । साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उनले त्यसलाई आक्रमणको निरन्तरता भएको बताए ।

‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उनले भने, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’
मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने पनि बताए । यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने उनको भनाइ रहेको छ ।

वाईसीएलको हेटौंडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले खादा ओढाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स