काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज वैशाख ५ गतेदेखि वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्यूचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर तारले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने जनाएको छ ।
बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्याङ, ठुलो भर्याङ, कामना स्कुल, अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।