काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया रोकिएको छ । अन्तिम नामावली प्रकाशन गरेर अन्तरवार्ताको तयारी गरे पनि तत्कालको लागि स्थगन भएको छ ।
बोर्डको अध्यक्ष बन्नको लागि आवेदन दिएका १९ जनामध्ये ५ जना संक्षिप्त सूची चैत २५ गते छनौट गरिएको थियो । छनौटमा परेका ५ जनालाई सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले चैत २९ गते अन्तरवार्ताको लागि बोलाएको थियो । तर अहिलेसम्म अन्तरवार्ता भएको छैन ।
यसरी प्रक्रिया रोकिनुमा अध्यक्ष छनौटको ‘सिनारियो’ नै परिवर्तन गर्न खोजिएको देखिएको छ । निवेदन दिनेमा चिरञ्जीवी चापागाईँ कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा. गोपाल प्रसाद भट्ट, निरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. विमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल , कृष्णबहादुर कार्की रहेका छन् ।
आवेदन दिने १९ जनामध्ये संक्षिप्त सूचमा समावेश हुनेमा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ विभिन्न वित्तिय संस्थाको संचालक समितिमा रहेर काम गरेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका निमित्त अध्यक्ष नवराज अधिकारी पनि हुन् ।
यसरी ५ जनालाई छनौट गरेर तत्कालको लागि प्रक्रिया स्थगित गर्नुमा प्रमुख २ कारण रहेका देखिएका छन्।
बोर्डको अध्यक्ष सिफारिस समितिको संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ छन् । समितिका सदस्यमा अर्थ सचिव कृष्णहरि पुष्कर र स्वतन्त्र विज्ञतर्फ त्रिभुवन विश्वविद्यालयका प्रध्यापक उदय निरौलालाई राखिएको छ ।
यो समितिले छनौट गरेका ५ जना मध्ये सन्तोषनारायण श्रेष्ठलाई छनौट गरिनुमा अर्थमन्त्री वर्षमान पुन असन्तुष्ट छन् । श्रेष्ठ छनौटमा पर्दा नियुक्त नै उनी हुन सक्ने आशंकाका साथ उनी असन्तुष्ट छन् । व्यवसायीक पृष्ठ भूमि र राजनीतिक साँठगाँठ समेत उनको रहेको अर्थमन्त्रीको बुझाई छ । अर्थमन्त्रीले चाहेको व्यक्ति अन्तिम ५ भित्र परे पन श्रेष्ठलाई सुरुमै ‘रिङ आउट’ गर्न चाहन्थे । तर उनी ३ भित्र पर्न सक्ने खतरा देखिएपछि अर्थमन्त्री समिति सँग असतुष्ट देखिएका छन् । अहिले छनौट प्रक्रिया रोकिनुको मुख्य एक कारण यो देखिएको छ । अर्थमन्त्रीले योग्य मान्छेहरु छुटेको बताइरहेका छन् ।
त्यस्तै दोस्रो कारणको रुपमा साउन सम्मको लागि नै रोकिने खतरा देखिएको छ । हालका लगानी बोर्डका सीईओ शुशील भट्टको कार्यकाल साउन २१ गते समाप्त हुँदैछ । उनी कि नेपाल राष्ट्र बैंकको गर्भनर कि बोर्डका अध्यक्ष को दावेदारको रुपमा हेरिएको छ । उनले पटक पटक दुवै पदको लागि आफ्नो योग्यता पुग्ने बताउँदै समेत आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत उनलाई पुन महत्वपूर्ण पदमा राख्न चाहन्छन् । अहिलेलाई बोर्डको अध्यक्ष छनौड प्रक्रिया राकेर पुन आवेदन माग गर्न सकिने सम्मको संभावना देखिएको छ । अहिले प्रधानमन्त्री प्रचण्डको समेत बोर्ड अध्यक्ष छनौट प्रक्रिया राकौं भन्ने आशय रहेको देखिएको हो ।
रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।