यस्ता छन् आजका प्रमुख समाचार

१.वर्षमान पुन अनन्त अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ । नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको हो ।

पछिल्लो एक महिनामा सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर भएको छ । यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको आयोजनाबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।

२.एक वर्षमा २.२५ प्रतिशतले कर्जाको औसत ब्याजदर घटेको छ । गत आवको फागुन महिनामा १३.०३ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर चालु आवको फागुनमसान्तसम्म घटेर १०.७८ प्रतिशतमा ओर्लिएको हो । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको यस्तो ब्याजदर १२.३० प्रतिशत थियो । यो अवधिमा कर्जाको ब्याजदर औसतमा १.२५ प्रतिशतले ओलिएको छ ।

३.चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले छ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो । हालसम्म उक्त वृद्धिदर हासिल गर्न सक्ने पर्याप्त आधारहरू देखिएका छैनन् । विश्व बैंकले केही दिनअघि सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर एक दशमलव नौ प्रतिशत रहेको बताएको छ । सन् २०२४ मा तीन दशमलव तीन प्रतिशत रहने अनुमान गरेको छ ।

एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव छ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ । सरकारले वार्षिक बजेटमा राखेको वृद्धिदरको अनुमानभन्दा विश्व बैंक र एडिबीले गरेको वृद्धिदरको अनुमान करिब आधा हो ।
३. गतवर्षको तुलनामा यस वर्ष सरकारी बजेट खर्च केही घटेको छ भने राजस्व संकलन बढेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको तेस्रो त्रैमासिक अर्थात् चैत मसान्तसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख खर्च भएको छ । गत आर्थिक वर्ष २०७९÷८१ का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याइएको तेस्रो त्रैमासिक अवधिसम्ममा वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत अर्थात् नौ खर्ब ४३ अर्ब पाँच करोड १६ लाख बराबर खर्च भएको देखिन्छ ।

४. गतवर्षको तुलनामा बजेट खर्च केही कम देखिँदा राजस्व संकलनको अवस्था केही बढेको देखिन्छ । चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ ।
चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२ दशमलव पाँच प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख असुली भएको छ । गत आर्थिक वर्षका लागि कुल १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा ४९ दशमलव ६७ प्रतिशत अर्थात् ७ खर्ब २४ अर्ब ४७ करोड बराबर राजस्व उठेको देखिन्छ ।
५. २०८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ । २०८० को कारोबारको दिन अर्थात गत बुधबार घटेर बन्द भएको नेप्सेले आज आइतबार सोही क्रमलाई निरन्तरता दिएको हो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ ।
६. ग्लोबल आइएमई बैंकले ‘पैसा आउने, थपेर पाउने’ नारा सहित बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको हो ।

७.बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट उपलब्ध गराउनका लागि गत चैत १२ र २० गते दुईपटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणाली प्रविष्ट गर्न पत्राचार गरिएको मन्त्रालयका उपसचिव लक्ष्मी रिमालले बताए ।

८.आज नयाँ वर्षको पहिलो दिन आज सुन चाँदीको मूल्य घटेको छ । २०८० सालको अन्तिम दिन शुक्रबार १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुन मूल्य आज २२ सयले घटेर १ लाख ३६ हजार ८०० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
आज आइतबार तेजावी सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेर १ लाख ३६ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार तेजावी सुनको मूल्य १ लाख ३८ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार १७ सय ५० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज घटेर १७ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी महासंघले जनाएको छ ।

९.सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।

महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
१०.सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गरेको छ ।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स