अहिलेसम्मकै खतरनाक र उच्चतम तयारीका साथ इरानले गर्यो इजरायलमाथि ड्रोन र मिसाइल प्रहार

काठमाडौं । इरानले इजरायलमाथि अहिलेसम्मकै खतरनाक र उच्चतम स्तरको तयारीका साथ आक्रमण गरेको छ । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेर फेरि युद्धको सुरुवात गरेको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको छ । उसले यो कदम ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप चालेको प्रेस विज्ञप्तीमा भनेको छ ।

‘हामीले सिरियामा रहेको इरानी वाणिज्य दूतावासलाई निशाना बनाउने अपराधको जवाफमा ड्रोन र मिसाइलहरू प्रयोग गरेर अभियान सुरु गयौँ,’ आईआरजीसीले विज्ञप्तिमा भनेको छ ।

तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको हो । सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि यो आक्रमण भएको थियो ।

शनिबार टेलिभिजन सम्बोधनमा इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भनेका छन्, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित हवाई वाहनहरू प्रहार गरेको छ ।’

इरानबाट प्रक्षेपित क्षेप्यास्त्र र ड्रोनहरू खसाल्न इजरायली सेनाले प्रतिरक्षात्मक कारबाही गरेपछि तेल अबिब र जेरुसेलमलगायत इजरायलका सहरहरूमा हवाई आक्रमणको साइरन र विस्फोटको ठूलो आवाज सुनिएको बीबीसीले लेखेको छ ।

अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा ३३,६८६ प्यालेस्टाइनी मारिएका छन् र ७६,३०९ घाइते भएका छन् । हमासले अक्टोबर ७ मा गरेको आक्रमणबाट इजरायलमा मर्नेको संख्या १,१३९ पुगेको छन भने दर्जनौं व्यक्ति अझै पनि बन्दीमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स