प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले किन राखे सम्मानजनक बहिर्गमनको प्रस्ताव ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले किन राखे सम्मानजनक बहिर्गमनको प्रस्ताव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफै विरुद्ध उत्रिएका न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन् । उनका विरुद्धमा उत्रिएर राजीनामा माग गरिरहेका सहकर्मी न्यायाधीशहरू समक्ष उनले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका हुन् । आफू विरुद्ध न्यायालयका सबै संघसंस्थाहरू उत्रिएपछि उनले सम्मानपूर्ण बहिर्गमनको प्रस्ताव पठाएका हुन् ।

राजीनामा माग गरिहेका न्यायाधीसहरू बैठक बसिरहेका बेला प्रधानन्यायाधीस जवराले न्यायाधीश मनोज शर्मामार्फत प्रस्ताव पठाएका हुन् । प्रधानन्यायाधीश जबरालाई कार्यपालिकासँग राजनीतिक सौदाबाजी गरेको, न्यायिक विचलन देखिएको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेकाले आरोप विपक्षी न्यायाधीसहरूले लगाएका छन् ।

त्यस्तो प्रस्ताव आएपछि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशको प्रस्तावबारे स्पष्ट कुरा बुझ्न अनौपचारिक रूपमा जिम्मेवारी दिइएको सर्वोच्च स्रोतले बताएको छ ।

गत मंगलबार प्रधानन्यायाधीशलाई न्यायाधीसहरूले सामूहिक रूपमा जबराले संवैधानिक न्याय प्रणालीलाई नेतृत्व दिन नसकेको, न्यायिक क्षेत्रको नेतृत्वकर्ताका रूपमा जबराको विश्वसनीयतामा ह्रास आएको बताएका थिए । यसले अदालतप्रतिको जनआस्थामा समेत गम्भीर प्रभाव पार्ने तथा विश्वास गुम्ने उनीहरूको भनाइ छ । न्यायपालिकाहरूले नेतृत्वकर्ताको रूपमा उनको निरन्तरता उपयुक्त नभएको बताउँदै आएका छन् ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वन्यायाधीश फोरम, संवैधानिक कानून व्यवसायी मञ्ज जस्ता न्यायिक क्षेत्रका संघसंस्थाहरू एक भएर प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् ।

आइतबार नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो कारण अदालतमा सुनुवाइ प्रक्रिया प्राय ठप्प भएको छ ।

यी तीन जना न्यायाधीशहरूले आइतबार साँझ नै प्रधानन्यायाधीशसँग छलफल बस्ने भएका छन् । उनीहरूले सोमबार बिहान हुने सबै न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीशले प्रस्ताव गरेको सम्मानजनक बहिर्गमनको मोडालिटीबारे जानकारी गराउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स