काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा पाँच लाख बराबरको कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री आधुनिकीरण परियोजना दोलखाको ५० प्रतिशत अनुदानमा ९ वटा कृषि औजार वितरण गरेको हो ।
‘कृषि सहकारी संस्थाले पैती, कालापानी, मनगाउँ, पोखरे, ढाडेमा कृषि औजार वितरण गरेको कृषि सहकारी संस्थाको सदस्य दिपेश श्रेष्ठले बताए । श्रेष्ठले भने ‘ किसानहरूले आवश्यक परेको अवस्थामा सहज ढंगबाट प्रयोग गर्न मिल्नेगरी ९ वटा कृषि औजार वितरण गरेको हो ।’
ट्याक्टर विशेष गरि बाजो जमिन जोत्नलाई प्रयोग गरिन्छ तर परम्परागत शैलीमा गोरु लगाएर जमिन खनजोत गर्न नै उत्तम भएको किसानहरूको भनाइ छ ।
समय अनुसार नयाँ प्रविधिमा आएको विभिन्न कृषि औजार प्रयोग भएपनि बारीमा अन्न उब्जाउनलाई पराम्परागत शैलीमा नै खनजोत गर्दा राम्रोसँग उब्जानी भएको बताउँछन् । टयाक्टरले बाजो जमिनमा गहिरो हुनेगरी जोत्दैन गोरु र हलो, कोदालोको प्रयोगले राम्रोसँग खनजोत गर्न सकिन्छ ।
श्रेष्ठका अनुसार नयाँ प्राविधिक औजारहरूले समयमा छिटो छरितो काम गर्न सहज हुने भएकाले किसानहरूको लागि नयाँ प्राविधिक औजारहरू आवश्यक छ । साथै किसानहरू पनि समयअनुसार कृषि औजार विभिन्न संघ संस्थाले सहयोग गरि वितरण गर्दा खुसी भएका छन् ।