बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ५ करोड बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बुधबार आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले जनाएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

थापा २०७९ साल वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स