काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको बताएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।
‘निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौं ।’उनले भने, ‘यस पटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् ।’
श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुई प्रतिशत सकारात्मक भएको उनले बताए ।
‘नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख हुन् । किनभने यस अवधिमा भारत, बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ ।’ उनले भने, ‘जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत वर्ष पनि नेपालको वृद्धि दुई प्रतिशतभन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशतभन्दा बढिले विस्तार भएको थियो ।’
भारत मात्रै होइन हाल निकै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, कम्बोडिया, लाओस, रुवान्डा र इथियोपिया जस्ता मुलुकको विकासको मुख्य आधार निजी क्षेत्रले डो¥याएको वृद्धि नै हो । कुनै समयका द्वन्द्वग्रस्त र निकै गरिब मुलुकहरूको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । नेपालको भने औसत ४ प्रतिशत रहेको उनले बताए ।
हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ, त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो’, उनले भने, ‘त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।’
‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ ।’ उनले भने ।
उद्योगी व्यवसायीहरुले ठूलो मेहतन गरेर सुरु गरेको व्यवसाय सरकारको नीतिले गर्दा धरासायी हुने गरेको अध्यक्ष ढकालको भनाइ छ । ‘ठूलो मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ । तर, यति हुँदा हुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्न । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु ।’