चन्द्रागिरिमा ‘कपडा बैंक’को शुभारम्भ

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ ।

यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।

साथै बैंकले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ‘कपडा बैंक’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैंकको शुभारम्भ गरे ।

सो अवसरमा नगरप्रमुख गिरीले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए । चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता खड्गी भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैंकलाई अगामी दिनमा सहयोग गरिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैंकमा पैसामा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक छ भने । उनले भने, ‘आफूले जापानमा अध्ययन गरेका समयमा कपडा बैंकमार्फत लिएको कोट अहिले प्रयोग गर्दैछु । यस्ता बैकको औचित्य बढ्दो छ ।’

अभिनेता हमालले कपडा बैंकका साथसाथमा खाद्यान्न बैंक स्थापनाको तयारी गरिएको जानकारी दिदैं कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए । उनका अनुसार बैंकले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स