प्रकाशकीय

प्रविधिमा आएको प्रयोगले अहिले विश्वलाई नै साँघुरो घेराभित्र देख्न र पढ्न सक्ने बनाइदिएको छ । यहि प्रविधिको प्रयोगबाट पत्रकारिता जगतलाई थप सहज र सरल बनाएको छ । अनलाइन पत्रकारिताको विकाससँगै पल पलमा सूचना सम्प्रेषण हुन थालेका छन् । छापा पत्रकारिताको जस्तो अहिले समाचार पढ्नको लागि भोलि पर्खनु पर्दैन । तपाईको हातमा भएको मोबाइलबाट विश्वभरका घटना तथा सूचना थाहा पाउन सक्नुहुनेछ ।

र पनि यो अभ्यास नयाँ र नौलो भने पटक्कै होइन । अनलाइन पत्रकारिताको माध्यमबाट हामीले के गर्दछौं भन्ने चाहिँ महत्वपूर्ण हो । अबको हाम्रो यात्रा कुन दिशातर्फ केन्द्रित हुन्छ भन्ने मुद्दा अहम हो ।

निश्पक्ष आर्थिक पत्रकारिता हामी र हाम्रो तृष्णा हो । समृद्र नेपाल निर्माणमा सञ्चार क्षेत्रबाट सहयोग गर्ने हाम्रो चाहना हो । संविधानले परिलक्षित गरेका मार्गनिर्देशनहरूलाई आम जनताको जीवनमा सकारात्मक रुपान्तरण गर्ने हाम्रो प्रयास हो ।

आमनागरिकले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा प्रवाहलाई चुस्त, जवाफदेही र उत्तरदायी बनाउनेमा हाम्रो ध्यान केन्द्रीत हुनेछ ।
हाम्रोअर्थले विभिन्न क्षेत्रका घटना/मुद्दालाई तथ्य र तथ्यांकको माध्यमबाट व्याख्या र विश्लेषण गरी सम्बन्धित निकायको ध्यानाकर्षणमात्र नभइ जिम्मेवार बनाउने छ । तथ्य र यथार्थपरक समाचार दिनु हाम्रो धर्म र मूल मर्म हो ।

आर्थिक क्षेत्रमा रहेर लामो समय कलम चलाएको हाम्रो अनुभवले भन्छ, अहिले पनि नेपालमा आर्थिक पत्रकारितामा गर्नुपर्ने काम धेरै छन् । आर्थिक विकास र समृद्धिका समाचार आउन बाँकी नै छन् । हरेक पक्षमा अर्थतन्त्रमा सम्भावनाको मूल द्वार खोल्न ढिला भइसकेको छ ।

समग्रमा भन्दा हामीले नीति निर्माणको क्षेत्रमा पैरवी गर्नेछौ । निजी क्षेत्रलाई काम गर्न उत्साहित बनाउनेछौं, आम जनताको अनुभव बाँड्नेछौं र उनीहरूलाई देश निर्माणमा ईँटा थप्न घच्घच्याउने छौं । कोही र कसै प्रति पूर्वाग्रही नभइ सकारात्मक सोच राखेर हामीले हाम्रो यात्रा अगाडि बढाउनेछौं ।

कुनै पनि संस्था जन्मनु ठूलो कुरा होइन । यो सामान्य र विधिको विधान नै हो । मुख्य कुरा त त्यसले आफ्नो यात्रामा कति प्रभाव पार्न सक्छ भन्ने हो । हाम्रा अभिभावकहरूले मन खोलेर हाम्रो यात्रामा साथ दिनुहुनेछ भन्ने हामीलाई भरोसा छ । हाम्रो उत्साहमा यहाँहरूले ऊर्जा थप्नु हुनेछ । यस घडीमा विज्ञ पाठक, सहयोगी हातहरू र मार्गदर्शन गर्ने अग्रज तथा अभिभावहरूबाट सधैँ सहयोग पाउनेछौं भन्ने आशा र विश्वास लिएका छौं ।

सोबितराम कार्की
प्रकाशक, परिसूचक मिडिया प्रा.लि

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स