काठमाडौं । जीवन बीमा गर्ने बीमा कम्पनीहरूले सबै भन्दा बढि व्यवसाय बागमती प्रदेशमा गरेका छन् । जीवन बीमा कम्पनीहरूको व्यवसाय चालु आवको फागुन अन्त्यसम्म सबै भन्दा बढी बागमती प्रदेशमा देखिएको छ । जीवन बीमा कम्पनीले चालु आवको फागुनसम्म आर्जन गरेको बीमा शुल्कमध्य ४४.४४ प्रतिशत हिस्सा बागमती प्रदेशको रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
बीमक कम्पनीहरूले सातै प्रदेशबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरिक सावधिक, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, एकल बीमा शुल्क म्यादि जीवन बीमा र लघु जीवन बीमाम कुल ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्षको चौमास फागुन अन्त्यसम्म १ करोड ३८ लाख ७ हजार २४९ पोलिसी जारी गरेर पौने ९९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ ।
बागमती प्रदेशमा बीमकहरूले ९८ लाख ८८ हजार ५६६ पोलिसी जारी गरेर ४३ अर्ब ८१ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो भने समीक्षा अवधिमा कम बीमा व्यवसाय कर्णालीमा भएको देखिन्छ । उक्त प्रदेशमा १ लाख ८४ हजार २६२ पोलिसी जारी गरेर २ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ ।
बीमकहरूले फागुन अन्त्यसम्म कोशी प्रदेशमा ११ लाख ४० हजार ११ पोलिसी जारी गरेर ११ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा मधेश प्रदेशमा ५ लाख ६७ हजार ३२४ पोलिसी जारी गरेर ८ अर्ब ७५ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ । गण्डकी प्रदेश १० अर्ब ५ करोड ३० लाख, लुम्बिनी प्रदेश १५ अर्ब ४० करोड ६ लाख र सुदुरपश्चिममा ५ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ ।