जीवन बीमा कम्पनीहरूको वैदेशिक व्यापार करिब २ अर्ब, गत आव भन्दा १०.३८ प्रतिशतले कम

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले वैदेशिक रोजगारमा जाने कामदारबाट एक अर्ब ९९ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरूको वैदेशिक रोजगारमा जानेबाट व्यापार २ अर्ब २३ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आवको समीक्षा अवधिमा कम्पनीहरूको व्यवसाय यस अवधिमा १०.३८ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन अन्त्यसम्म जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले २० लाख ९ हजार ३५१ पोलिसी जारी गरेर सो व्यापार गरेका हुन् । बीमा प्राधिकरणको तथ्यांकमा बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै ६७ हजार ५४५ पोलिसी जारी गरेर २८ करोड २६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको उल्लेख छ ।

फागुन महिनामा सबैभन्दा बढि जीवन बीमा व्यवसाय गर्ने सन नेपाल लाइफ इन्स्योरेन्सले रहेको छ भने अन्य कम्पनीहरूको तुलनामा प्रभु महालक्ष्मी इन्स्योरेन्सले कम व्यापार गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको आठ महिना (फागुन) अन्त्यसम्म सबै भन्दा बढि ७ लाख ३४ हजार १५५ पोलिसी जारी गरेर ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले फागुन महिनामा मात्रै १५ हजार ५२४ पोलिसी जारी गरेर ६ करोड ५७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन अन्त्यसम्म ४ लाख १० हजार ४९५ पोलिसी जारी गरेर ४३ करोड ५३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत आवको समीक्षा अवधिमा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको समीक्षा अवधिमा कम्पनीको व्यवसाय ११३.१८ प्रतिशतले बढि हो ।

बढि जीवन बीमा व्यवसाय गर्ने तेस्रो नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १ लाख ६५ हजार ४०० पोलिसी जारी गरेर २२ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले फागुन महिनामा मात्रै ८ हजार २२७ पोलिसी जारी गरेर ३ करोड २९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

साउनदेखि फागुन अन्त्यसम्म जीवन बीमा व्यवसाय गर्नेे एशियन लाइफ इन्स्योरेन्सले ५२ हजार १४५ पोलिसी जारी गरेर १८ करोड ८५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले १७ करोड ५१ लाख, सूर्यजोति लाइफ इन्स्योरेन्सले १४ करोड २४ लाख, सानिमा रिलायन्स लाइफ एन्स्योरेन्सले १३ करोड ८८ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६८ हजार ५०८ पोलिसी जारी गरेर ११ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

त्यसैगरी समीक्षा अवधिमा जीवन बीमा व्यवसाय गर्ने दुई कम्पनीको भने अन्य कम्पनीहरूको तुलनामा कम व्यवसाय भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आवको आठ महिनासम्म १ लाख २१ हजार १९० पोलिसी जारी गरेर ७ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले गत आवको सोहि समीक्षा अवधिमा १४ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको समीक्षा अवधिमा कम्पनीको व्यवसाय आधा कम हो ।

जीवन बीमा व्यवसाय गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ हजार ३२१ पोलिसी जारी गरेर १६ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा १ करोड ९८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । गत आवको समीक्षा अवधिको तुलनामा कम्पनीको व्यवसाय यस अवधिमा ९१.६३ प्रतिशतले कम हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स