काठमाडौं । भौगोलिक विकटता, सामाजिक विभेद र अपांगमैत्री शिक्षा प्रणालीको अभावमा अपांगता भएका जनसङ्ख्यामध्ये आधामात्र साक्षर रहेको देखिएको छ ।
मुलुकको कूल साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहँदा अपांगता भएका व्यक्तिको साक्षरता दर ५० दशमलव १ प्रतिशत मात्र छ । अपांगता भएका महिलाको साक्षरता दर अझै न्यून छ । कूल अपांगता भएका जनसङ्ख्याको ३८ दशमलव ५ प्रतिशत मात्र महिला साक्षर रहेको छ । ‘राष्ट्रिय जनगणना २०७८’को जनगणनामा संकलित तथ्यांकका आधारमा सार्वजनिक गरिएको अपांगसम्बन्धी तथ्यांकीय प्रतिवेदनमा यो तथ्य उजागर भएको हो ।
अघिल्लो जनगणना २०६८ मा अपांगता भएका व्यक्तिको साक्षरतादर ४३ दशमलव २ रहेको थियो । उक्त जनगणनाअनुसार पुरुषको साक्षरतादर ५२ दशमलव २ र महिलाको ३३ दशमलव ७ रहेको थियो । हालै सार्वजनिक प्रतिवेदनसँग तुलना गर्दा साक्षरतादर सुधारोन्मुख देखिए पनि उत्साहजनक नदेखिएको सरोकारवालाको भनाइ छ ।
राष्ट्रिय तथ्यांक कार्यालय र राष्ट्रिय अपांग महासंघ (एनएफडिएन) ले संयुक्तरुपमा प्रकाशन गरेको ‘राष्ट्रिय जनगणना २०७८ अपांगसम्बन्धी तथ्यांकीय प्रतिवेदन’ले कूल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपांगताको लक्षण देखिएको छ । प्रतिवेदनअनुसार मुलुकभर अपांगता भएका जनसङ्ख्या छ लाख ४७ हजार सात सय ४४ छ । पाँच वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख २१ हजार चार सय २३ जनसङ्ख्यामध्ये तीन लाख ११ हजार छ सय ३० जनसङ्ख्या मात्र साक्षर छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयको जनसङ्ख्या शाखाका प्रमुख ढुण्डिराज लामिछानेले २०७८ सालको जनगणनामा पहिलो पटक अपांगताको खण्डीकृत तथ्यांक संकलन र विष्लेषण गरिएको बताए । प्रमुख लामिछानेले भने, ‘महासंघसँगको तथ्यांकीय विश्लेषणले एक हदसम्म अपांगता क्षेत्रको अपुरो तथ्यांकलाई पूरा गरेको छ ।’
बाह्र प्रकारका अपांगतालाई विभाजन गरी विश्लेषण गरिएको प्रतिवेदनमा सबैभन्दा बढी साक्षर दृष्टिविहीन रहेका छन् । पूर्ण दृष्टिविहीनमध्ये ६३ दशमलव ३ प्रतिशत साक्षर छन् । यो समूहमा पुरुष ७० दशमलव ४ र महिला ५६ दशमलव ३ प्रतिशत साक्षर छन् । बौद्धिक अपांग भएका सबैभन्दा कम साक्षर छन् । यो समूहका कूल २० दशमलव ४ प्रतिशत जनसङ्ख्या मात्र साक्षर छन्, त्यसमा पुरुष २२ दशमलव ८ र महिला १७ दशमलव ८ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी शारीरिक अपांगता भएकामध्ये ५९ दशमलव ९ प्रतिशत साक्षर छन् । पुरुष ६८ दशमलव ३ र महिला ४७ दशमलव ८ प्रतिशत साक्षर रहेका छन् । न्यूनदृष्टि भएका ४४ दशमलव ६ प्रतिशत साक्षरमध्ये पुरुष ५९ दशमलव ६ र महिला ३० दशमलव ५ प्रतिशत छन् । राष्ट्रिय अपांग महासंघका प्रवक्ता रमेश पोखरेलले पूर्ण दृष्टिविहीनको तुलनामा न्यूनदृष्टिविहीनको साक्षरता दर न्यून हुनुमा उनीहरुले सवलांग नागरिकसँगै बसेर पढ्नुपर्ने, उही पाठ्यक्रम र उही शैक्षिक सामग्रीको साहारा लिनुपर्ने बाध्यता भएको बताए । पूर्ण दृष्टिविहीनका लागि ब्रेललिपिको व्यवस्था, अलग्गै कक्षाकोठा, होस्टलको प्रबन्ध आदिका कारण पढ्न सहज भएकाले यो समूहको साक्षरता दर पनि राम्रो भएको पोखरेलको भनाइ छ ।
प्रतिवेदनअनुसार बहिरा भएकाको साक्षरता दर ४० दशमलव ४ प्रतिशत रहेकामा पुरुषको ५० दशमलव ५ र महिलाको २९ दशमलव २ रहेको छ । सुस्त श्रवण भएकाहरुको साक्षरता दर ४१ दशमलव ५ रहेकामा पुरुषको ५४ दशमलव ३ र महिलाको २८ दशमलव ४ प्रतिशत रहेको छ । यसैगरी श्रवण दृष्टिविहीनको साक्षरता दर ४४ दशमलव ९ रहेकामा पुरुषको ५६ दशमलव १ र महिलाको ३२ दशमलव ४ प्रतिशत रहेको छ । स्वर र बोलाइसम्बन्धी अपांग भएकाको साक्षरता दर ३८ दशमलव ८ छ, त्यसमा पुरुषको ४४ दशमलव ५ र महिलाको ३१ दशमलव ४ प्रतिशत रहेको छ । मानसिक वा मनोसामाजिक अपांगभएकाको साक्षरता दर ४६ दशमलव ३ प्रतिशत रहेकामा पुरुषको ५३ दशमलव ९ र महिलाको ३७ दशमलव ७ प्रतिशत रहेको छ । हेमोफोलिया भएकाहरुको साक्षरता दर ६६ दशमलव १ रहेको छ, त्यसमा पुरुषको ७६ दशमलव ७ र महिलाको ५६ दशमलव ४ प्रतिशत रहेको छ ।
यस्तै अटिजम भएकाको साक्षरता दर ३० दशमलव ४ रहेको छ, जसमा पुरुषको ३८ दशमलव ८ र महिलाको २३ दशमलव ६ प्रतिशत रहेको छ । बहुअपांग भएकाको साक्षरता दर ४७ दशमलव ९ प्रतिशत छ भने ५३ दशमलव १ र महिलाको ४१ दशमलव १ साक्षरता देखिन्छ ।
महासंघका अध्यक्ष देवीदत्त आचार्यले अपांगताको खण्डीकृत तथ्यांक सार्वजनिक भएसँगै अपांगता भएका व्यक्तिले सामाजिक जीवनमा विभेदपूर्ण ढंगले पाइरहेका अनेक प्रकारका अवसरबारे जानकारी भएको बताए । ‘यस क्षेत्रमा हामीले अहिलेसम्म समग्रतामा तथ्यांक संकलन र प्रकाशन गरेका थियौं’, अध्यक्ष आचार्यले भने, ‘यसपटक खण्डीकृत तथ्यांक प्रकाशन भएका कारण अपांगता भएका महिलाको साक्षरता दर यती कमजोर रहेछ भन्ने थाहा भयो ।’
अपांगता भएकाको शैक्षिक अवस्था कमजोर हुनुमा पाठ्यक्रमदेखि विद्यालय संरचनासम्म समस्या रहेको अध्यक्ष आचार्यको भनाइ छ । ‘पाठ्यक्रम पनि अपांगमैत्री छैनन् । सामान्य विद्यालय भवनमा अपांगता भएका विद्यार्थी कक्षामा प्रवेश गर्नसक्ने अवस्था छैन, जसले गर्दा चाहेर पनि उनीहरुले पढ्न पाएका छैनन् ।’
अपांग मानवअधिकार केन्द्रका निर्देशक जगदीशप्रसाद अधिकारीले पाठ्यक्रम, ब्रेललिपिका पुस्तक, शिक्षक र पूर्वाधारका अभावकाबीच यस क्षेत्रको साक्षरता र शिक्षा प्रगतिउन्मुख रहेकामा सन्तोष व्यक्त गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आँकडाअनुसार समग्रमा विद्यालय जाने उमेरका चार प्रतिशत बालबालिका विद्यालय बाहिर छन्, त्यसमध्ये ८० प्रतिशत अपांगता भएका बालबालिका विद्यालय बाहिर छन् ।