काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकको भन्दा विकास बैंकको अवस्था अझ नाजुक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कि फाइनान्सियल इण्डिकेटरमा विकास बैंकहरूको अवस्था नाजुक देखिएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विकास बैंकहरूको खराब कर्जा नाजुक अवस्थामा रहेको छ । औसतमा विकास बैंकहरूको खराब कर्जा ३.६१ प्रतिशत रहेपनि दुई विकास बैंकको खराब कर्जा अत्यधिक माथि रहेको रिपोर्ट राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
चालु वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै खराब कर्जा हुने विकास बैंकमा नारायणी विकास बैंक परेको छ भने दोस्रो नम्बरमा सप्तकोशी विकासको रहेको छ । नारायणी विकास बैंकको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ ।
नारायणीले ६ महिनामा कुल निक्षेप ५२ करोड ५२ लाख ५४ हजार संकलन गरेको छ । यस्तै ४७ करोड ९० लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९४.५० प्रतिशत कायम छ ।
खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । बैंकको खराब कर्जा १४.१६ प्रतिशत पुगेको हो ।
सबैभन्दा कम एनपीएल हुनेको पहिलो नम्बरमा सिन्धु विकास बैंक रहेको छ । यो बैंकको खराब कर्जा १.०५ प्रतिशत मात्रै छ । यस्तै थोरै एनपीएल हुने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक लिमिटेडको २.५१ प्रतिशत छ । साल्पा विकास बैंकको खराब कर्जा ६.४५ प्रतिशत रहेको छ । मितेरी डेभलपमेन्ट बैंकको २.७४, गरिमा विकास बैंकको २.९४ प्रतिशत पुगेको छ ।
यस्तै ७ वटा विकास बैंकको एनपीएल ५ प्रतिशत भन्दा तल छ । ५ प्रतिशतभन्दा कम एनपीएल हुने ज्योति विकास बैंकको एनपीएल ४.८८ प्रतिशत रहेको छ भने महालक्ष्मी विकास बैंकको एनपीएल ४.५९ प्रतिशत रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल ४.८९ प्रतिशत पुग्दा एक्सेल डेभलपमेन्ट बैंकको एनपीएल ४.७० प्रतिशत पुगेको छ । कामना सेवा विकास बैंकको एनपीएल ३.४२ र लुम्बीनी विकास बैंकको ३.५५ प्रतिशत छ । ग्रीन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६६ प्रतिशत एनपीएल छ ।