८ महिनामा यार्सागुम्बाको निर्यात २५ करोड ७७ लाख रूपैयाँले बढ्यो, सबैभन्दा बढी हङकङमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ८ महिनामा यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/०८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यार्सागुम्बाको निर्यात बढेको हो ।

चालु आवको ८ महिनामा नेपालबाट बिभिन्न १५ मुलुकमा ६२ करोड ११ लाख ८४ हजार रूपैयाँ बराबरको १ हजार २७७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । गत आवको सोहि अवधिमा यस्तो निर्यात ५६४ किलोग्राम बराबर मूल्यको ३६ करोड ३४ लाख रूपैयाँ भएको थियो । जुन अघिल्लो आवको तुलानामा २५ करोड ७७ लाख ८४ हजार रूपैयाँले बढी हो ।

चालु आवमा नेपालबाट सबैभन्दा बढी यार्सागुम्बाको निर्यात हङकङमा भएको छ । नेपालबाट ८ महिनामा हंङकङमा २७ करोड १० लाख ५१ हजार मूल्य बराबरको ४१२ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवमा १७ करोड ७५ लाख मूल्य बराबरको २५६ केजी यार्सागुम्बा निर्यात भएको थियो ।

त्यस्तै, चीनमा २२ करोड ८७ लाख ७५ हजार मूल्य बराबारको ५७१ किलोग्रामको यार्सागुम्बा निर्यात भएको छ । गत आवको सोहि अवभिमा नेपालबाट २१ लाख ५९ हजार मूल्य बराबरको ६ केजी यार्सागुम्बा निर्यात भएको थियो ।

कम्बोडियामा ४ करोड ५१ लाख २१ हजार मूल्य बराबरको ८८ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवको सोहि अवधिमा ११ करोड ५९ लाख ४३ हजार मूल्य बराबरको १७६ केजी यार्सागुम्बा निर्यात भएको थियो ।

भियतनाममा ३ करोड ७१ लाख ८७ हजार मूल्यको १३७ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवमा यस्तो निर्यात ४ करोड २३ लाख मूल्यको ८३ केजी भएको थियो । सिंगापुरमा १ करोड ७४ लाख २७ हजार मूल्यको २३ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवमा यस मुलुकमा १ करोड २५ लाख २५ हजार मूल्यको १३ केजी यार्सागुम्बा निर्यात भएको थियो ।

युनाइटेड किङडममा ९५ लाख ६६ हजार मूल्यको १९ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवमा २० लाख ६३ हजार मूल्यको ८ केजी यार्सागुम्बा निर्यात भएको थियो । अमेरिकामा ७२ लाख १४ हजार मूल्यको ११ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवमा ५१ लाख ८६ हजार मूल्यको ८ केजी यार्सागुम्बा निर्यात निर्यात भएको थियो । मलेसियामा ३९ लाख २० हजार मूल्यको १४ केजी यार्सागुम्बा निर्यात भएको छ । गत आवमा यस मुलुकमा ३४ लाख ५३ हजार मूल्यको ७ केजी यार्सागुम्बा निर्यात भएको थियो ।

कुन कुन जिल्लामा हुन्छ उत्पादन ?
त्यसैगरि यार्सागुम्बा निर्यात हुने अन्य मुलुकमा अष्ट्रिलया, अष्ट्रिया, चेक रिपब्लिक, ग्रीस, जापान, मंगोलिया, रसिया लगायत रहेका छन् । यार्सागुम्बा नेपालका २५ जिल्लाबाट हुने गरेको भएतापनि १२ जिल्ला दार्चुला, म्याग्दी, डोल्पा, रुकुम, जुम्ला, मनाङ, गोरखा, सिन्धुपाल्चोक, बझाङ, मुगु, संखुवासभा र रसुवामा यसको व्यावसायिक संकलन हुने गरेको छ ।

के का लागि उपयोगी मानिन्छ यार्सागुम्बा ?
यार्सागुम्बा एक बहुमूल्य जडिबुटी हो । यसमा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिबद्र्धक, रक्तअल्पता, छाती तथा फोक्सोको संक्रमण, क्षयरोग, हेपाटाईटिस वि, मृगौला, कलेजोसम्बन्धी रोगका औषधि बनाउन प्रयोग हुने गर्दछ । समुद्र सतहबाट करीव ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाइमा यसको उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स