काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन् । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गरे ।
निरीक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गरे । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, ‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस ।’
पछिल्लो समय ठुलो मात्रामा युवाहरु विदेशीने गरेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोचनुपर्ने आवश्यक रहेको बताए ।
साधन स्रोतका कारण कुनै पनि योजना संचालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथी उठेर देशभरका युवाहरुलाई सपना देखाउने ब्यक्तिका रुपमा आफूलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
अहिलेकै अवस्थामा युवाहरु विदेशीने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतारा बढ्दै गएको भन्दै मन्त्री अथकले चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विभिद कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नितिगत कुराहरुलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताए ।
कार्यक्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए ।