गलकोट (बागलुङ) । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ भेटी संकलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम संकलन भएको हो ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय, चामल बिक्रीबाट ५४ हजार नौ सय, बोकाबाट एक लाख ३० हजार छ सय, कुखुराबाट सात हजार दुई सय प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा तीन लाख १४ हजार चार सय, विवाहबाट १० हजार पाँच सय आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५०, व्रतबन्ध नौ सय, पण्डितबाट १२ हजार दुई सय रूपैयाँ संकलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।
यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ । फागुनमा सात लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब तीन लाख ९७ हजार आठ सय, विद्युत् महसुल ५२ हजार आठ सय, अतिथि सत्कारमा ६७ हजार खर्च भएको छ ।
साथै आर्थिक सहयोग १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार, पोशाक तथा छपाइमा २१ हजार, खाद्यान्न तथा आवासमा ५४ हजार, विज्ञापनमा तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । संकलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दशैं मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए ।