राष्ट्र बैंक र अर्थतन्त्रका सूचना तथा तथ्यांकहरूको सही र सरल विश्लेषण हुनु जरुरी छ : गभर्नर अधिकारी

काभ्रे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्यांक र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताए ।

अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवम् बैंकहरू तथ्यांकको भारीले थिचिएको उनको भनाई छ । संस्थागत रुपमा तयार भएका त्यस्ता तथ्यांकहरू सहज ढंगबाट आर्थिक पत्रकाहरु मार्फत आम सर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीले बताए ।

‘राष्ट्र बैंक र अर्थतन्त्रका सूचना तथा तथ्यांकहरू प्रशस्त छन् । तर, यसको सही र सरल विश्लेषण हुनु जरुरी छ,’ गभर्नर अधिकारीले भने, ‘संस्थाहरूमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आर्थिक तथ्यांकहरू आर्थिक पत्रकारहरूले जनताले बुझ्ने ढंगले प्रस्तुत गरेर जनतासम्म पुर्‍याउन जरुरी छ ।’

गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गरे । अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक रिर्पोटिङ गर्ने आर्थिक पत्रकारहरूलाई प्रदान गरिने तालिमबाट राष्ट्र बैंकले पनि सिक्ने भन्दै गभर्नर अधिकारीले नाफिजका सदस्यताहरूको क्षमता पनि अभिवृद्धि हुने धारणा राखे ।

राष्ट्र बैंकको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । प्रशिक्षणमा नेपाल राष्ट्र बैंकले छनोट गरेका ९ वटा आर्थिक, वित्तिय र मौद्रिक नीतिसँग सम्बन्धित विषयमा प्रशिक्षण हुनेछ । प्रशिक्षणमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले छनोट गरेका ३९ जना बैंकिङ तथा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरू सहभागी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स