म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाखभन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी आज बिहान गनिएको हो ।
यस वर्षको महाशिवरात्रि पर्वमा चार लाख २९ हजार तीन सय ८८ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुुनले जानकारी दिए ।
पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताए ।
महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा महाशिवरात्रि मेलालाई व्यवस्थित गरिएको थियो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटी गन्ने गरिएको छ । गत साउनदेखि यता ३७ लाख ९८ हजार सात सय पाँच भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए ।
गलेश्वरमा संकलन भएको भेटी शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।