म्याग्दीको सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको सङ्ग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए । ‘धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ’, उनले भने ।

मौलिकता झल्कने गरी करिब ८५ लाखमा निर्माण भएको यो सङ्ग्रहालय बनाउन गाउँपालिकाले ७ लाख र प्रदेश सरकारले ५ लाख बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो । दुईतला भएको सङ्ग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैलि, पहिचान झल्कने सामग्री सङ्कलन गरेर राखिएका छन् ।

यहाँ आउने सबै पर्यटकले सङ्ग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले बताए । विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन् । सङ्ग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुगेका रमेश शर्माले बताए । ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले सङ्ग्रहालय भवन निर्माण भएको छ ।

करबाकेलीथान परिसरमा निर्माण भएको सङ्ग्रहालयले परम्परागत र हराएर जाने अवस्थामा पुगेका सामग्रीको संरक्षणमा सहयोग पुगेको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स