काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ । नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, रोकिएका आयोजनालाई गति दिने तथा नयाँ आयोजनाको सुरुवातलगायतका विषयमा भएका प्रगति उल्लेख्य छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको बिदाइका लागि आयोजित कार्यक्रममा मन्त्रालयका सम्बद्ध अधिकारीले एक वर्षमा उल्लेख्य प्रगति भएको बताए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुण, दुधकोशी जस्ता आयोजना निर्माण सुरु गर्ने तयारी छ । यस्तै, रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म समस्यामा रहेका विद्युत् प्रसारण लाइन समेत निर्माण सम्पन्न भएका छन् । ठूला क्षमताका सवस्टेशनहरु पनि निर्माण सम्पन्न भएका छन् ।
विद्युत् विधेयक संघीय संसद्मा पेस भएको छ । मन्त्रालय सम्बद्ध अन्य विधेयकहरु प्रक्रियामा अगाडि बढेका छन् । कानुनी एवम् संरचनागत सुधारमा विशेष ध्यान दिइएको भन्दै ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले एक वर्षमा उल्लेख्य प्रगति भएको बताए ।
कार्यप्रगतिका हिसाबले पनि यो अवधिमा उल्लेख्य काम भएको जानकारी दिँदै उनले तोकिएका लक्ष्य प्राप्तिमा समेत मन्त्रालय अब्बल रहेको बताए । जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले समीक्षा अवधिमा मुलुकको जलस्रोत तथा सिँचाइको क्षेत्रमा परिणाम देखिने गरी काम भएको बताए ।
जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले आयोगलाई गतिशील बनाउनका लागि यस अवधिमा परिणाममुखी र सार्थक काम अगाडि बढेको बताइन् । निर्वतमान ऊर्जामन्त्री बस्नेतले आफू गैरप्राविधिक मन्त्री भएपनि ऊर्जा, जलस्रोतको क्षेत्रमा सामूहिक रूपमा कार्यसम्पादन गर्ने प्रयत्न गरेको बताए । उनले मुलुकको समग्र ऊर्जा क्षेत्रको प्रगतिका लागि यस अवधिमा भएका कामलाई थप गति दिन अझै मेहनतको जरुरी रहेको बताए ।
‘केही रणनीतिक महत्वका कामहरु यसबिचमा भएका छन् । त्यसले देश र जनताको हितमा काम गर्नेछ । हामीले यसबाट सार्थक परिणाम प्राप्त गर्नेछौँ’, बस्नेतले भने । उनले यस अवधिमा मन्त्रालयको समग्र टोलीबाट आफूले सार्थक सहयोग पाएको बताए ।
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत चैतमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए ।