काठमाडौं । माओवादी पार्टीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग पक्का भएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुनलाई बनाउन खोजेको माओवादी स्रोतले जनाएको छ ।
पछिल्लो सहमति अनुसार एमालेले राष्ट्रिय सभाको अध्यक्ष पद पाएपछि अर्थ मन्त्रालय माओवादीलाई दिन केपी ओली लगभग सहमत भएका छन् ।
त्यस्तै, एमालेले अर्थमन्त्री नपाउने भएपछि उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान नचाहेको स्रोतले जनाएको छ ।
मन्त्रालयको टुंगो लगाउन नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बस्ने छ ।
कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि विना विभागीय नै छन् । अहिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकिएको छ भने नयाँ शपथ गराइएका मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजनको निर्णय गरेका थिए ।