साथसाथैका महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौं । हिमाली क्षेत्रका स्थानीय समुदायमा हिमाल पग्लिएर परेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाली महिला टोली कालापत्थर गएको छ । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौंबाट प्रस्थान गरेको छ।

जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको छ । उनीहरुलाई युएन वुमका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा बिदाइ गरेका थिए । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमनः एक्सलेरेट प्रोग्रेस (गतिशील प्रगतिका लागि महिलामा लगानी)’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीका अनुसार जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने जानकारी दिईन । पदयात्राका क्रममा स्थानीय तहका जनप्रतिनिधि र समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

‘हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन युनाइटेड फर क्लाइमेट जस्टिस (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित १८ हजार ५१९ फिट उचाइमा रहेको कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौं।’ अध्यक्ष कार्कीले भनिन्, ‘यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायहरुबारेमा पनि विज्ञ र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्नेछौं ।’

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलालाई लिएर यही फागुन १७ गते काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तक्र्रिया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराईन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स