काठमाडौं । उमेरले नब्बेको हाराहारीमा पुगेका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिहरूका भूमिका समेटिएको पुस्तक एकै साथ विमोचन भएको हो ।
भक्तपुरको दूधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबिच लेखक तिलक प्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक प्रकाशका कृतिहरूका भूमिका’ नामक दुई कृति विमोचन क्रमशः पूर्व सभामुख दमननाथ ढुङ्गाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गरेको हो ।
कार्यक्रममा पूर्व सभामुख ढुङ्गानाले नेपालको राजनीतिक क्षेत्रमा तिलक प्रकाशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठा वान व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलक प्रकाशको छवि उच्च बनेको चर्चा गरे ।
उनले साहित्यका र तिलक प्रकाशको जीवनका साथै विभिन्न लेख र विचारहरूबाट वर्तमान राजनीतिक व्यक्तिहरूले पाठ सिक्नुपर्नेमा जोड दिए । उनले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेको कारण राजनीतिक दलका नेताहरू सुध्रिनुपर्ने चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्यकार विमल निभाले लेखक तिलक प्रकाशको साहित्य उचा रहेको बताए । उनले तिलक प्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उनको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे । उनले लेखक तिलक प्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेत समेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठुलो योगदान दिएको जनाएका थिए ।
कार्यक्रममा अर्का लेखक एवम् चिन्तक ओमचरण अमात्यले लेखक तिलक प्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दलहरू र नेपालीहरू सचेत हुनुपर्ने जनाए ।
कार्यक्रममा सञ्चारकर्मी सन्जिब दुलाललाई तिशा इनले लेखन वृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा सङ्घसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद पचास हजार पाँच रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताए ।