नयाँ भवनबाट सेवा विस्तार गर्दै भक्तपुर अस्पताल

काठमाडौं । भक्तपुर अस्पतालले सुविधासम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पताल वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा सुरु भएको थियो ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमका अनुसार बेलायत सरकारको करिब ३४ करोड रुपैंयाँ सहयोगमा निर्माण भएको सुविधासम्पन्न उक्त नयाँ भवनबाट सेवा विस्तार गरेको जानकारी दिईन । भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरवृद्धि गर्दै तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गर्दै नयाँ भवनमा सेवा विस्तार गरेको मेसु डा गौतमले बताईन।

अस्पतालको थप स्तरवृद्धि गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा आठ करोड रुपैंयाँको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन भैसकेको उनले जानकारी दिईन । नयाँ भवनमा नयाँ प्रसूति वार्ड सुरु गरिसकेको र अन्य अत्याधुनिक उपकरण जडानको काम भइरहेकाले अबको एक सातामा शल्यक्रिया कक्ष, १५ शय्याको आइसीयू, मोडुलार ओटी सञ्चालन गरिने उनले बताईन । अस्पतालले मुटुरोग सेवा पनि सञ्चालनको तयारी गरिएको छ ।

आफ्नै नाममा १८ रोपनी चार आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाइटी, साझा औषधि पसल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालले यहाँको जमिन उपभोग गरिदिँदा भक्तपुर अस्पताल साँघुरोमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स