सरकारी संयन्त्रमार्फत् युक्रेन युद्धमा मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकका परिवारलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । नेपाल सरकारले मस्कोस्थित दूतावासमार्फत् नेपालकै सरकारी संयन्त्रमार्फत् क्षतिपूर्ति उपलब्ध गराउन राखेको प्रस्तावमा रुसले सहमति जनाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतकुमार राईका अनुसार रुसले यसअघि पीडित परिवारलाई क्षतिपुर्ति दिने, तर उनका परिवार नै रुस जानुपर्ने भनेको थियो । अब रुसले मस्कोस्थित नेपाली दूतावासलाई क्षतिपूर्ति दिन्छ, त्यो नेपालको परराष्ट्र मन्त्रालय हुदै सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा पुग्छ र परिवारका सदस्यहरुले क्षतिपूर्ति लिन पाउँनेछन् ।

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने हालसम्म कुनै पनि तथ्यांक छैन । तर रुसी युद्धमा परी कम्तिमा पनि १२ नेपालीको ज्यान गइसकेको छ भने कति घाइते छन् तथा कति मारिएका छन् भन्ने बारेमा रुस सरकारले नेपाललाई कुनै  जानकारी दिएको छैन । मस्कोमा रहेको नेपाली दूतावासलाई पनि सार्वजनिक रुपमा आएका सुचना र तथ्यांकबाहेक केही सुचना उपलब्ध छैन ।

माघको पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा युगान्डाको राजधानी कम्पालामा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइसँग भेटवार्ता गरेका थिए । भेटमा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेईलाई नेपाली नागरिकलाई गैरकानुनी रुपमा भर्ना नगर्न, भर्ना भएका सम्पूर्णलाई नेपाल फर्काउन र मृत्यु भएका व्यक्तिहरुको परिवारलाई क्षतिपूर्ति दिनको लागि आग्रह गरेका थिए ।

साउदले आफूलाई मस्को भ्रमणको बाटो खोलिदिन पनि आग्रह गरेका थिए । तर रुसले क्षतिपूर्ति उपलब्ध गराउने बाहेक अन्य कुनै पनि विषयमा नेपाली पक्षलाई जवाफ दिएको छैन । जसका कारण गैरकानुनी रुपमा भर्ती भएका नेपालीहरुलाई घर फर्काउने कार्य सम्भव भएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स