काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण संजालको अन्तिम परीक्षणलाई तीब्रता दिँदै विगत सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण संजालको स्वामित्व हस्तान्तरण गरेको छ ।
मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आए लगत्तै नयाँ खानेपानी वितरण संजालको परीक्षणलाई तीब्रता दिएका कारण दोस्रो पटक थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गर्न सफलता मिलेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजालको करिव २ अर्ब ७ करोड मूल्य बराबरका २७८ कि.मि. खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको छ ।यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिव ४० करोड १४ लाख मूल्य बराबरका ७५ कि.मि. खानेपानी वितरण संजालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ ।
हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण संजालका कूल ३५० कि.मि. खानेपानी वितरण प्रणालीबाट जम्मा २३,००० घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ । काठमाडौं उपत्यकामा विच्छ्याइएका कूल १ हजार १० कि.मि. वितरण संजालमध्ये हस्तारण हुन बाँकी रहेको करिव ६६० कि.मि. वितरण संजालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको छ ।
ती वितरण संजालहरूको पनि क्रमिकरूपमा परीक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म गर्ने गरी कार्ययोजनाका साथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले जानकारी दिएका छन् । यसैगरी, आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल संचालनमा रहेका छन् ।
नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ भने चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको छ । माननीय खानेपानी मन्त्री महिन्द्र राय यादव प्रमुख अतिथि, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य विशेष अतिथि र खानेपानी मन्त्रालयका सहसचिवहरू अतिथिका रूपमा सहभागी ुभएको आज काठमाडौंमा आयोजित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६ औं वार्षिकोत्सव समारोहमा थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.सञ्जीव विक्रम राणालाई थप खानेपानी वितरण संजालको स्वामित्व हस्तान्तरण गरे ।
सोही अवसरमा आयोजनाबाट स्वामित्व प्राप्त भएका १० वटा वितरण संजालको संचालन र व्यवस्थापनको जिम्मेवारी बोर्डले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरेको छ ।