नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, सबैभन्दा धेरै सुदूरपश्चिममा

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। सोमबार कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो २०७८/८०) अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो ।

सर्वेक्षणले शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक गरेको हो । सर्वेक्षणले शहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा वार्षिक ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाई गरिब भनेको छ ।

अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । अहिले गरिबीको रेखा मुनि रहेका नागरिकको संख्या करिब ५ प्रतिशतले घटेको हो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत छ ।सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो नम्बरमा छ । कर्णालीमा २६.६९ प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि छन् ।

सबैभन्दा कम गरिब जनसंख्या गण्डकी प्रदेशमा छन् । गण्डकीमा ११.८८ प्रतिशत मानिस गरिब रहेको तथ्यांकले देखाएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत, कोशी प्रदेशमा १७.१९ प्रतिशत र बागमती प्रदेशमा १२.५९ प्रतिशत गरिबीको दर छ ।

अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको कार्यालयका उपतथ्यांक प्रमुख हेमराज रेग्मीले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स