बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने बताएका छन् ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्र्तक्रियामा उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताए ।

सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उनको भनाइ छ । उनले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्यांकले देखाएको बताए । ‘हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ’, उनले भने ।

‘विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ’, उनले भने ।

नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । उनले आयात विस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको बताए ।

उनले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको स्पष्ट पारे । उनले कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रलाई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषणमा लाग्न सञ्चारमाध्यमलाई उनले आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको उल्लेख गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग परिसंघ उद्योग समितिका संयोजक लक्ष्मीप्रसाद सुवेदीलगायतले मुलुकको अर्थतन्त्रको विकासको क्षेत्रमा इमानले खेलेको भूमिका सराहनीय रहेको बताए ।

इमानका अध्यक्ष रोयल आचार्यले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि इमानले भूमिका खेल्दै आएको बताए । बैंक तथा वित्तीय संस्थाको आवाज इमानले बोल्दै आएको उनको भनाइ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स