काठमाडौं । राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकांकमासमेत क्रमशः कमी आइरहेको देखिएको छ । ‘वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकांक, तलब तथा ज्यालादर र थोक मूल्य सूचकांकको वृद्धिदरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मकरुपमा कम दबाब पर्न गएको छ’, राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेको छ ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक क्रमशः १३.७ प्रतिशत, १.४ प्रतिशत र ०.६ प्रतिशतले घटेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने ३५.६० प्रतिशतले बढेको छ । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलपूmलको १०.१५ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।
गत पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत छ । यो अवधिमा तराईको मूल्यवृद्धि ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ६.५७ प्रतिशत छ ।
चालु आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो, गत पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१६ प्रतिशत, मध्यवर्ती वस्तुको १.९९ प्रतिशत र पुँजीगत वस्तु २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.८ प्रतिशतले घटेको छ ।
यो अवधिमा आयात ३.१, निर्यात ७.२ प्रतिशत र कूल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ ।