काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ ।
अदालतले उनलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश जरिवाना पनि तोकेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सजाय निर्धारण गरेको हो।
विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।
इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।