काठमाडौं । कृषि विकास बैंकले त्रिशक्ति महिला समूहलाई डष्टबिन प्रदान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच बैंकले समूहलाई डष्टबिन हस्तान्तरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत बैंकले सेवा भावले उपलब्ध गराएको उक्त डष्टबिन काठमाडौं महानगरपालिका वडा नं.५ हाँडीगाउँस्थित गहनापोखरीमा राखिने आयोजक समूहले जनाएको छ ।
कार्यक्रममा समूहकी उपाध्यक्ष नर्बदा मैनालीले बैंकका लागि यो सानो सहयोग भएपनि हाम्रो लागि यो ठूलो सहयोग भएको बताइन् । ‘यो सहयोगले हाँडीगाउँको पहिचान बोकेको गहनापोखरीको पर्यावरण स्वच्छ राख्न मद्दत मिल्छ,’ उनले भनिन् ।’
कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गहना पोखरीमा कृषि विकास बैंकले डष्टबिन राख्न पाउनु भनेको गर्वको विषय भएको बताए । बैंकले संीएसआरको फण्ड यस्तै धार्मिक, ऐतिहासिक स्थलका साथै विद्यालय तथा आम नागरिकको हित तथा पर्यावरण स्वच्छतामा खर्च गर्दै आएको उनले जानकारी दिए ।
‘यसले गहनापोखरीको पर्यावरणलाई स्वच्छ राख्न सहयोग मिल्छ भन्ने मैले विश्वास लिएको छु’, उनले भने ‘यो हाम्रो सानो सहयोग हो, ‘आगामी दिनमा पनि बैंकबाट यस्तो सहयोग हुन्छ ।’ कार्यक्रममा कृषि विकास बैंक बागमती प्रदेशका निर्देशक गिरिधारी पौडेलले बैंकले नाफाको एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नु पर्ने प्रावधानअनुसार यो सहयोग जुटाउन सकेको बताए ।
‘अब हाँडीगाउँसँग कृषि विकास बैंक जोडिएको छ’, उनले भने ‘हजुरहरूले कृषि विकास बैंकमा खाता खोलेर अब्बल सेवा लिन सक्नु हुन्छ’, उनले भने ‘सुरक्षित पैसा राख्न र कर्जा लिन चाहेमा हामीलाई सम्झनुस्, बैंकले पनि अन्य वाणिज्य बैंकले जस्तै ग्राहकलाई सबै प्रकारको सेवा दिनेछ ।’
कार्यक्रममा कृषि विकास बैंकको मार्केटिङ विभागीय प्रमुख बिना शर्मा, बैंकको नक्साल शाखा प्रबन्धक अन्जु कोइरालाको उपस्थिति रहेको थियो ।