काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले दोषी प्रमाणित नगरी व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको बताएका छन् । प्रहरीले बिहीबार उद्योगी अरुण चौधरीलाई पक्राउ गरेपछि निजी क्षेत्रका विभिन्न संस्थाले गरेको पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष अग्रवालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यसरी व्यवसायीलाई दोषी प्रमाणीत नगरिकन पक्राउ गर्दा प्रतिष्ठित उद्योगी व्यवसायीको मान प्रतिष्ठामा आँच आउने र व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु न्यायसंगत नहुने बताए ।
‘सीआईबीले बोलाएको भए उनी आफैं उपस्थित भएर अनुसन्धानलाई सहयोग गर्ने, तर हठात् पक्राउ गर्नु गलत हो’, उनले भने ।
उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत रहेको उनले उल्लेख गरे । बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रिया मै आपत्ति रहेको उनले बताए ।
मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि हुने यस्तो क्रियाकलापले समस्या निम्त्याउने भन्दै निजी क्षेत्रका विभिन्न संस्थाले आपत्ती जनाएका छन्। महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको जनाएको छ ।
लगानी सम्मेलन हुन गइरहेको यस्तो खबरले सकारात्मक सन्देश नजाने व्यवसायीहरुको धारणा रहेको छ। पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले व्यापारीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार हुँदा पनि त्यो अवसर व्यवसायीलाई नदिने गरिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने बताए ।