काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक वर्षभित्र हालको पुँजी वृद्धि गरि २० अर्ब पुर्याउन पुनर्बीमा कम्पनीलाई निर्देशन दिएको हो ।
हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी सञ्चालनमा छन् । यी दुई कम्पनीले अबको एक वर्षभित्र पुँजी बढाएर २० अर्ब पुर्याउनु पर्ने हुन्छ ।
नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ रहेको छ । प्राधिकरणको निर्देशनपछि यस कम्पनीले एक वर्षभित्र ५६ प्रतिशत अर्थात् ७ अर्ब १८ करोड ६४ लाख ५६ हजार रुपैयाँ थप गर्नु पर्नेछ ।
यस्तै, हिमालयन रिन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको निर्देशनपछि अब यस कम्पनीले १ सय प्रतिशत अर्थात् १० अर्ब पुँजी थप गर्नु पर्ने देखिन्छ ।
यी दुवै पुनर्बीमा कम्पनीले पुँजी वृद्धिको कार्ययोजना १५ दिनभित्र प्राधिकरणमा पेश गर्न निर्देशन समेत प्राधिकरणले दिने भएको छ ।
प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बोर्डको बैठकमा जीवन बीमा र निर्जिवन बीमा कम्पनीको पुँजी वृद्धि भएसँगै पुनर्बीमा कम्पनीको पनि यस बिषयमा छलफल हुनुपर्ने माग सहित उनले एजेण्डा प्रस्तुत गरेका थिए ।
यस विषयमा प्राधिकरणका अध्यक्ष सिलवाले एजेण्डा बनाईरहेपछि बोर्डका संचालकले पुनर्बीमा कम्पनीको पुँजी बढाउने निर्णयलाई स्वीकृत गरेको हो ।