मिटरव्याजपीडितबाट न्याय मार्चको घोषणा

काठमाडौं । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मंगलबारबाट पूर्व र पश्चिमबाट एकैसाथ सडक आन्दोलन सुरु गर्ने भएको छ ।

आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गर्दै समितिले मेची–महाकालीबाट एकैसाथ मिटरब्याज विरुद्धको न्याय मार्च सुरु गर्ने घोषणा गरेको छ ।

मिटरब्याजसम्बन्धी कानुन संशोधनसंगै शक्तिशाली छानविनको माग गर्दै र आर्थिक तथा सामाजिक अपराधको रुपमा स्थापित मिटरब्याज छानबिनका लागि शक्तिशाली उच्च आयोग गठनको प्रमुख माग उनीहरुले अघि सारेका छन्।

‘सरकारले मिटरब्याजसम्बन्धी कानुन त बनायो तर, त्यसले पीडितलाई नभएर साहुमहाजनलाई पक्षपोषण गर्‍यो ।’ समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले भने, ‘यस्तो प्रकारको कानुनको पूर्ण खारेजी गर्दै नयाँ कानुन निर्माणको पक्षमा हामी फेरि आन्दोलित भएका हौं ।’

मंगलबार बिहान ७ बजे पूर्वमा मेची किनारबाट र पश्चिममा महाकालीबाट सुरु हुने बृहत् न्याय मार्चपास चितवनको नारायणघाटमा पुगेर काठमाडौंतर्फ प्रवेश गर्नेछ । काठमाडौं विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी सरकारलाई मिटरब्याजपीडितको पक्षमा कानुन निर्माण गर्न तथा शक्तिशाली उच्च आयोग बनाउन दबाब दिने यस आन्दोलनको उद्देश्य रहेको अध्यक्ष कुशवाहले बताए ।

संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले मिटरब्याजपीडितहरुलाई राज्यले पटकपटक दमन गरेको र अन्य कुनै विकल्प नभएपछि सडकमा आन्दोलन गर्न बाध्य हुनुपरेको बताइन् । ‘विगत ३ वर्षदेखि लगातार जारी रहेको यस आन्दोलन जबसम्म पीडितले न्याय पाउँदैनन् तबसम्म जारी रहन्छ ।’ उनले भनिन्, ‘यो आन्दोलन वित्तीय शोषणविरुद्धको पनि आन्दोलन हो, यसकारण यस आन्दोलनमा साहुमहाजनबाट शोषित हरेक नागरिकको सहभागिता रहने अपेक्षा लिएको छौं ।’

देशभर ५ लाखको हाराहारीमा मिटरब्याजपीडितको संख्या रहेको जनाउँदै संघर्ष समितिले आन्दोलनमा ती सबैको साथ सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स