काठमाडौं । कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता छन् ।
मतदानमा प्रदेशतर्फ ४० र स्थानीय तहतर्फ १५६ जनाले भोट हालेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी १५८ जना भए पनि २ जनाको मृत्यु भएका कारण १५६ जना मतदाता थिए । बिहान ९ बजेदेखि सुरु भएको मतदानको अवधि ३ बजेसम्मका लागि तोकिए पनि त्यसअघि नै सबै मतदाताले भोट हालेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो । कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् । सत्तारुढ गठबन्धनको पक्षमा ३ हजार ७ सय ७९ र एमालेको मतभार १ हजार १ सय ९५ छ ।