काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ अनुसारनै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो। धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहनेगरि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस गर्ने समिति गठन गर्नुपर्ने व्यवस्था यस ऐनमा छ।
यस समितिले प्राप्त निवेदनबाट कम्तीमा तीनजनाको नाम सिफारिस छनौट गर्नुपर्नेछ। यसरी छनौट गरिएका तीन जनामध्ये मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।
तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ ।