पाकिस्तानद्वारा इरानस्थित ‘आतंकवादी आश्रयस्थल’मा हवाई आक्रमण

पाकिस्तान । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतंकवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इरानले पाकिस्तानमा मंगलबार राति ‘आतंकवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘ठूलो परिमाणमा आतंकवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।’

सरवन शहरवरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागि विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लंघन’ को निन्दा गरेको थियो ।

तेहरानले इराक र सिरियामा पनि ‘इरानी विरोधी आतंकवादी समूह’ विरुद्ध आक्रमण गरेपछि इरान सरकारले पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको थियो ।

तेहरान र इस्लामावादले एकअर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ ।

इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीहरूले ‘रेड सी’ मा कार्गो जहाजहरूमाथि आक्रमण गरेको समय इरानको आक्रमणले मध्यपूर्वमा थुप्रै संकटहरू थपेको छ ।

बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए ।

यसैबीच, इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले ‘तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने’ बताएका छन् ।

यसैबीच संयुक्त राज्य अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ भने विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लंघन गरेको बताएका छन् ।

पाकिस्तानको आधिकारिक वक्तव्यमा बिहीबारको आक्रमण कहाँ भएको थियो भन्नेबारे केही बताइएको छैन तर पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आक्रमण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुर नजिकै भएको थियो ।

आक्रमण हुनुभन्दा केही घण्टाअघि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेका थिए ।

‘पाकिस्तानको सार्वभौमिकताको यो उल्लंघन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुन सक्छ,’ पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स