नेपाल टेलिकमको १६ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पुस २९ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७९/८० को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

कम्पनीका अनुसार साधारणसभामा करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ।व। २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजंग जोशी निर्विरोध निर्वाचित भएका छन् ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ४४.४२ अर्ब आम्दानी गरी ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले भने, ‘देशभर फोरजीरएलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’

कम्पनीका अध्यक्षले साधारणसभामा सेयरधनीहरुले उठाएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने सेयरधनीहरुप्रति आभार व्यक्त गरे ।

कम्पनीले सोह्रौ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबार (२०८० पुस २९ गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स