काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा मुलुकको अर्थतन्त्र जम्मा ३.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले यस वर्षको आर्थिक वृद्धिदर ३.२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको हो ।
चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर पहिलो त्रैमासिकको विवरणले भने सरकारको लक्ष्य पुरा नहुने स्पष्ट संकेत देखाईसकेको छ ।
यसपाली खानी क्षेत्रको वृद्धि १५.८ प्रतिशतले भएको छ । बैंक तथा बीमा क्षेत्रको वृद्धि १३.२ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । निक्षेप तथा कर्जामा वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बीमाको बढ्दो प्रीमियमका कारण यो क्षेत्रको वृद्धिदर सकारात्मक रहने बताईएको छ ।
आवास तथा भोजन क्षेत्रको वृद्धि ११.७ प्रतिशत हुने भनिएको छ । पर्यटन आगमनमा भैरहेको वृद्धिले आवास तथा भोजन क्षेत्रमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयको विवरणमा उल्लेख छ ।
जीडीपीमा ठूलो योगदान रहने कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान १.४ प्रतिशतले बढ्ने देखिएको छ । धान उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । थोक था खुद्रा व्यापार क्षेत्र भने १.२ प्रतिशतले घट्ने देखिएको छ ।