काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आज पुस २० गते सकिँदैछ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका हमाल आफ्नो २ वर्षे कार्यकाल सकेर आजबाट बाहिरिँदैछन् । आज १.३० बजे उनको विदाइ कार्यक्रम राखिएको छ ।
तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बाँकी रहेको कार्यकाल पुरा गर्न हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । अध्यक्ष ढुंगाना सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले निलम्बन गरेको थियो । हमाल दोहोरिने हल्ला भएपनि उनले आफ्नो आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । बोर्डलाई स्वयत्त बनाउन खोजेको अध्यक्ष हमालको आशय बुझिएको छ ।
छोटो अवधिका लागि अध्यक्ष बनेका हमालले बोर्डले ३० वर्ष गर्न नसकेको अनुकरणीय काम गरेर देखाएका हमालले गर्न खोजेका केही प्रयास भने असफल भए । विभिन्न स्वार्थ समूहको चेपुवामा परेका हमालको आलोचना पनि प्रशस्त भयो। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको अनुमतिमा उनी आलोचित बनेका छन् ।
यद्यपि सेयर लगानीकर्ता भने उनको प्रशंसा नै गर्छन् ।
लगानीकर्ताहरूले भने हमालको कार्यकाल सेयर बजारका लागि उत्साहजनक रहेको बताउँदै आएका छन् । पुराना ब्रोकर कम्पनीको सिण्डिकेट तोडेर नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिए । यो सेयर लगानीकर्ताहरूका लागि सबैभन्दा ठूलो उपलब्धि हो । बुक बिल्डिङ विधिमार्फत् आईपीओ जारी गर्न लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएकोमा अध्यक्ष हमालले गरे ।
बैंकहरूले सि–आश्वा शुल्क बढी भएको भनेर आलोचना पनि हुने गरेको थियो । त्यसमा हमालले हस्तक्षेप गरे र शुल्क पनि घट्यो । उनले ब्रोकर कमिशन घटाउन प्रस्ताव गरेको फाइल अर्थ मन्त्रालयमा दशैं अघिदेखि रोकिएको छ । यो गर्न पाएका भए उनले लगानीकर्ताबाट अझ स्याबासी पाउने थिए ।
कुनै पनि बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा लामो समय कारोबार रोक्का हुन्थ्यो, लगानीकर्ताहरू खरिदबिक्री गर्नबाट बञ्चित हुन्थे, यी सबै प्रवृत्तिलाई अन्त्य गर्न अध्यक्ष हमाल केही हदसम्म सफल पनि बने ।
उनले गरेको अर्को महत्वपूर्ण काम भनेको सर्वाेत्तम सिमेन्टको आईपीओ प्रक्रियालाई अगाडि बढाए । संस्थापक सेयरको लकिङ अवधि खुल्नुअघि ३० दिन अगाडि नै जानकारी दिनु पर्ने व्यवस्था लागू गरे ।कतिपयलाई लकिङ पिरियड कहिले खुल्छ भनेर थाहा हुँदैन, प्रमोटरले सेयरको सप्लाइ दिने र नयाँ लगानीकर्ताहरू फस्ने सम्भावना हुन्छ, जस्तो शिवम्, माउन्टेन इनर्जीमा धेरै लगानीकर्ता फसे, त्यसैले यो पहल पनि राम्रो हो ।नेप्सेले गरिरहेको एकाधिकारलाई तोडेर नेपालको पुँजी बजार अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन अध्यक्ष हमालले पहल गरे ।
नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स हात पार्न ठूला व्यवसायीहरू प्रतिस्पर्धामा आए । लाइसेन्स कसले हात पार्ने भन्ने विषयमा ठूलो शक्ति संघर्ष भयो ।
यो विषय मन्त्रिपरिषदमा मात्र होइन, संसद र अदालतसम्म पुग्यो । सबै निकायबाट सहमति लिएर लाइसेन्स दिने हमालको प्रयास अझैसम्म सफल भएको छैन ।
‘उनको कार्यकालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल सफलतापूर्वक कार्यान्वयनमा आएको छ, बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न अनुमति छिटो दिने प्रक्रियामा ब्रेक भयो, प्रतिस्पर्धाको माध्यमबाट नयाँ ब्रोकर कम्पनीहरूले लाइसेन्स पाए, व्यक्तिगत तथा संस्थागत, बैंकले पनि सहायक कम्पनीकारूपमा ब्रोकर कम्पनीको लाइसेन्स पाए,’ ती कर्मचारीले भने ।
ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था हटाएर प्रक्रिया पुर्याउने कम्पनीले ब्रोकर शाखा थप्न पाउने व्यवस्था उनकै सक्रियताबाट भयो । प्रक्रिया पुर्याएर बोर्डमा आवेदन दिने सबै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने काम उनकै कार्यकालमा भएको ती कर्मचारीको भनाइ छ । जबकी आईपीओ निष्काशनमा उनको कार्यकालमा धेरै कम्पनीले निष्काशन गरेर ऐतिहासिक रकेर्ड नै ब्रेक भएको उनको दाबी छ ।