२५ रुपैंयाँ मासिक बचतबाट थालनी भएको तौडोलछाप सहकारी मन्दीमा समेत नाफामा

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ ।सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंयाँ मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपैंयाँका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए । बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको थियो ।

३० जना बचतकर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पुँजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैंयाँ रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ रूपैयाँ पुगेको छ ।

नेपालमा नै वनको आधारमा सामुदायिक वनकर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पुँजी १५ करोड भन्दा बढी पुञ्याउने लक्ष्य रहेको जनाएको छ । सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताएका थिए । जसरी समुदायका आधारमा चलेको तौडोलछाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हाल सम्म समस्या ग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्या ग्रस्त नहुने उनले बताए ।

साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेत, गणेश माविका प्रबन्धक रवीन्द्र कुमार थापा, टोल सुधार समिति खानेपानी समितिहरू तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिम्रता लोहनी बस्नेतले, लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्र कुमार थापाले गरेका थिए ।

साधारण सभाको अवसरमा जेष्ठ नागरिक बचत कर्ता, उत्कृष्ठ बचत कर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, नारी बचत कर्ता सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स