अर्थमन्त्री प्रकाशशरण महतले भने ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन् ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए ।

उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पारे । मन्त्री महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे ।

समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री डा महतलाई अवगत गराए ।

कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो । विसं २०६० असोज ८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन् । यसका दुई हजार चार सय वार्षिक सदस्य रहेका छन् । समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालयमा हालसम्म ३७ हजार छ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स