अध्यक्ष ढकाल गृहजिल्ला बागलुङमा सम्मानित

बलेवा (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेको हो । बागलुङ उद्योग वाणिज्य संघले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले व्यावसायीक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उनलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गरेको हो । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ । शेरचन प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरु दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गरेका छन् । बागलुङ महोत्सवको सुरुआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि संघले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । आजदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स