काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएका छन् ।
डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल तिरिरहेको बताएका हुन् ।
उनले भने ‘नेपाल विद्युत् प्राधिकरणले साढे ३ वर्षपछि प्रयोग नै नगरेको बिजुलीको पैसा माग्नु र आज आएर बिजुली काटेर उद्योग बन्द गर्नु खेदजनक छ,’। उनले राज्यले नै विनास गर्न लागेको बताए । ‘यसले हामीलाई मर्माहत बनाएको छ,’ उनले भने, ‘भर्खर निर्यात गर्न थालेका उद्योग पनि बन्द भएका छन् ।’
उद्योगीले प्राधिकरणले बिल पठाएको ७ दिनभित्रै सधैं छुटसहित पैसा तिर्ने गरेको अध्यक्ष अग्रवालको भनाइ छ । ‘अब कुनै थप शुल्क तिर्नुपर्ने छैन, हामीले तिर्नुपर्ने शुल्क के हो र ?’ उनले प्रश्न गरे, ‘के को बिल हो ? प्रस्ट प्राधिकरणले प्रस्ट पारोस्, हामी प्रमाण पुगेको शुल्क बुझाउन तयार छौं ।’
अहिले थप बिलको मात्र विवाद भएको भन्दै अध्यक्ष अग्रवालले विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिए । सरकारले लाइन काटेका उद्योग उत्पादनसँग सम्बन्धित रहेको भन्दै यसले रोजगारीमै असर पर्ने बताए । महासङ्घले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्दालाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरेको छ ।