काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनको लागि ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
पुस ८ गते १० अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ३ वटा निक्षेप संकलन उपकरण मार्फत ६० अर्ब रुपैयाँ खिचेको छ । बुधबार थप ३५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।
केन्द्रिय बैंकले गत शुक्रबार २५ अर्ब रुपैयाँ संकलन गर्न खोज्दा १३ बैंकहरुले ५५ आवेदन मार्फत ४५ अर्ब रुपैयाँ बुझाउन खोजेका थिए । उनीहरुले न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम २.९४ प्रतिशतसम्म ब्याज माग गरेका थिए । शुक्रबारको निक्षेप संकलनको दर झनै २.७६३५ प्रतिशत कायम भएको छ । यसअघि २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा जसको ब्याजदर २.७७७६ प्रतिशत कायम भएको थियो । हाल अन्तर बैंकदर २.५६ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ । केन्द्रीय बैंकले मंसिर महिना लागेपछि मात्रै वित्तीय प्रणालीमा रहेको झण्डै एक खर्ब ९७ अर्ब २५ करोड निक्षेप संकलन उपकरण मार्फत जनाएको छ । जसमध्ये ६२ अर्ब २५ करोड रुपैयाँ अझै परिपक्क हुन बाँकी रहेको छ ।