काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरूले धमाधम ब्याजदर घटाएको सूचना प्रकाशित गर्न थालेपछि विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षाले गरेको नयाँ व्यवस्थासँगै शनिबारदेखि नै बैंकहरुले ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका हुन् ।
राष्ट्र बैंकको नीति कुरेर बसेको कुमारी बैंकले सातामै दोस्रो पटक निक्षेपको ब्याजदर घटाएको छ । बैंकले गत मंसिर २४ गते ब्याजदर घटाएको थियो । बैंकले आज शुक्रबार एक सुचना जारी गरि पुनः निक्षेपको ब्याजदर घटाएको हो । आज घटाएको ब्याजदर भने पुस १ गतेबाट लागु हुने बैंकले जनाएको छ ।
नयाँ ब्याजदर अनुसार बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको ब्याज अधिकतम ९.३१ प्रतिशत ब्याज दिने छ। एक वर्षसम्मको ब्याज ७.७५ प्रतिशत तोकिएको छ। संस्थागत तर्फ एक वर्षसम्मको ब्याज ६.७५ प्रतिशत तथा १ वर्ष भन्दा बढी अवधिको ब्याज ७.३१ प्रतिशत तोकिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले पनि गत बुधबार सूचना जारी गर्दै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत दिने निर्णय गरेको छ । यो १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर हो । ३ देखि ६ महिनाभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत निर्धारण गरेको छ । यसअघि मंसिर १ गतेदेखि लागू हुने गरी १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर १०.६० प्रतिशत निर्धारण गरेको थियो । १ वर्षभन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर १०.५० प्रतिशत निर्धारण भएको थियो ।
मंगलबारदेखि लागू हुने गरी माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । यस बैंकले सामान्य बचतमा ४.६० प्रतिशतदेखि ७.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । एलसीवाई कल डिपोजिटमा २.३० प्रतिशत तथा रेमिट्यान्स फिक्स्ड डिपोजिटमा १०.६० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ब्याजदर ९.६० तथा संस्थागततर्फ ७.६० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको छ । बैंकले मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएको हो।
गरिमा विकास बैंकले निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.४० र संस्थागततर्फ ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसअघि बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.७५ र संस्थागततर्फ ७.७५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले बचततर्फ अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेकोमा घटाएर ४.४० प्रतिशत कायम गरेको छ । त्यस्तै, साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतमा ६.४० प्रतिशतसम्म र रेमिट्यान्स बचत खातामा ७.४० प्रतिशतसम्म ब्याजदर तोकिएको छ।
महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ। बैंकले मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकले साधारण बचत खातामा न्यूततम ४.३० प्रतिशतदेखि अधिकतममा ६.३० प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतममा ६.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले कल डिपोजिटमा २.१५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ अकाउन्टमा ३.२८ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९.३० तथा संस्थागत तर्फ ७.३० र रेमिट्यान्स मुद्दतिमा १०.३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। यसअघि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.४०, संस्थागततर्फ ७.४० र रेमिट्यान्स मुद्दतिमा १०.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुष १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.५६ प्रतिशत र रेमिट्यान्स बचत खातामा ९.५६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र रेमिट्यान्स खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको थियो ।
त्यस्तै, बैंकले पुसमा साधारण बचत खातामा न्यूनतम ३.६० प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ५.६५ प्रतिशत ब्याज दिनेछ । यसअघि मंसिरमा बैंकले ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत र रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशतमा झारेको थियो।
बैंकहरूमा अधिक तरलता भएपनि केहि महिना अघिदेखि नै ब्याजदर घट्दो क्रममा थियो । राष्ट्र बैंकको नयाँ नीतिका कारण बैंकहरूले घटाउँदै गएको ब्याजदर अझ घटाउने तयारी गरिरहेका छन् ।